|  

जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा

०७ भदाै, काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भुमिकामा रहेकाले संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सुसूचित हुनुपर्ने बताएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आईतवार आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’ मा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले संसदीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न र नीतिगत विषयमा स्पष्ट हुनका लागि यस्ता छलफलहरू महत्वपूर्ण हुने उल्लेख गरे । उनले पार्टीका नेताहरू यस्ता बौद्धिक र समसामयिक विषयमा शिक्षित हुनुपर्ने र नयाँ विषयवस्तुबारे जानकारी राख्नुपर्नेमा जोड दिए । यस्ता कार्यक्रमले कार्यकर्ताको जिज्ञासा र रुचि बढाउने उनको विश्वास छ । 
सभापति थापाले भन्नुभयो, ‘हामी अहिले प्रतिपक्षको जिम्मेवारीमा छौँ र संसदमा हाम्रा केही निश्चित उत्तरदायित्वहरू छन् । ती जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ । आजको छलफलबाट साथीहरूले थप जानकारी प्राप्त गर्नुहुनेछ भन्ने मेरो विश्वास छ । यसले भोलिका दिनमा विभिन्न विषयमा व्यापक दृष्टिकोण बनाउन मद्दत पुग्नेछ ।’

उनले कार्यक्रममा उठाइएका विषय र प्राप्त सुझावहरूलाई संसदमा पु¥याइने बताए ।– न्युज एजेन्सी नेपाल