|  

आजको बहस बलात्कारीलाई कति वर्ष जेल होइन, मृत्युदण्ड किन नगर्ने भन्ने होः खुश्बु ओली

८ भदौ, काठमाडौं । राप्रपाकी सांसद खुश्बु ओलीले आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने नभई मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्नेमा रहेको बताएकी छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले मृत्युदण्डको सजाय दिन रोकेको विषय देखाउने गरिएकोमा आपत्ति जनाएकी हुन्।

‘आज सडकमा हाम्रा आमाहरू, दिदीबहिनीहरू र छोरीहरू न्याय मागिरहेका छन् । त्यसैले आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने होइन, यस्ता जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्ने हो ! नेपालको संविधानले मृत्युदण्डको सजाय दिने गरि कानून बनाउन निषेध गरेको छ,’

उनले सोधिन्, ‘एउटी नेपाली छोरीको जीवनभन्दा ठूलो कुनै प्रोटोकल हुन सक्छ? कहिले निर्मला, कहिले एनिशा, आज फेरि तीन वर्षकी बालिका। हामी छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना पल्टाइरहने हो ? भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन। त्यहाँ मृत्युदण्डको व्यवस्था छ।’