|  

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

८ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् ।

सोमबार प्रदेशसभामा भएको मत विभाजनमा उनको पक्षमा ५७ मत परेको छ । विश्वासको मतको विपक्षमा २२ मत परेको छ भने ४ सांसदले मत दिन्न भन्ने पक्षमा मतदान गरेका छन् ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा कार्कीले त्योभन्दा बढी मत पाएका हुन् । मत विभाजनमा ८३ सांसद सहभागी भएका थिए । कार्कीलाई नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १७ सांसदले विश्वासको मत दिएका छन् ।

नेपाली कांग्रेसले भदौ ३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मत लिनुपरेको थियो।