|  

हर्क साम्पाङको प्रश्नः हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ? 

८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालको कानुनी व्यवस्था र त्यसको कार्यान्वयन गर्ने संयन्त्रको लाचारीप्रति प्रहार गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले अपराधीहरूले कानुनलाई गोजीमा बोकेर हिँड्ने गरेको टिप्पणी गरे ।

उनले देशको अवस्थालाई बिग्रिएको गाडी र अदक्ष चालकसँग तुलना गर्दै प्रश्न गरे, ‘हाम्रो देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ? गाडी बिग्रेको हो कि गाडी चलाउने मान्छेले चलाउन नजानेको ?’सांसद राईले नाबालिकाहरूको बलात्कार र हत्याका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै अपराधीहरू कानुनसँग नडराएको बताए ।

‘अपराधीहरू कानुनलाई गोजीमा बोकेर हिँडिरहेका छन्,’ उनले भने, ‘बलात्कारी पुष्टि भएको हकमा निर्मम रूपमा सजाय गर्नुपर्छ । कानुनसँग मान्छेको डर हुनुपर्छ, तब मात्र यस्ता जघन्य अपराध रोकिन्छन्।’