|  

भारतीय सहयोगमा निर्मित कुमारी छेँ र नयाँ कुमारीनिवास उद्घाटन

९ भदौ, काठमाडौं । भारतको सहयोगमा ललितपुरमा कुमारी छेँ र नयाँ कुमारी निवासको निर्माण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, सांसद जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब पाँच करोड रुपैयाँको लागतमा कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माण गरिएको हो ।

परियोजना नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले कार्यान्वयन गरेको हो भने डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेसनल ट्रस्ट फर आर्ट्स एन्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर र अन्य जिल्लाहरूका सांस्कृतिक सम्पदा स्थलहरू पुनर्निर्माण र पुनर्स्थाथापनामा भारत सरकारले पुर्‍याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे । भारतीय राजदूत श्रीवास्तवले नेपालका ऐतिहासिक धरोहरहरूको पुनर्स्थापनाका लागि भारतको निरन्तर सहयोग रहँदै आएको बताए ।

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत नेपालका आठ जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षणमा सहयोग गरेको छ ।

साथै, गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठ जिल्लाका ८५ शैक्षिक संस्था तथा ११ जिल्लाका १३३ स्वास्थ्य संस्थाको पुनर्निर्माणमा समेत सहयोग गरेको जनाएको छ ।