०९ भदाै, काठमाडाैं । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन र आर्थिक समृद्धिका लागि पुँजी बजारको सुदृढीकरण तथा नीतिगत सुधार अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै अर्यालले पुँजी बजारलाई स्रोत परिचालन र पुँजी लगानीको सबैभन्दा भरपर्दो माध्यमका रूपमा चित्रण गर्नुभएको हो । उहाँले कुनैपनि व्यवसाय विस्तारका क्रममा व्यक्तिगत स्रोत, पारिवारिक ऋण र बैंक कर्जाले मात्र नपुग्ने अवस्थामा पुँजी बजार नै अन्तिम र प्रभावकारी विकल्प हुने उल्लेख गर्नुभयो । अर्यालले पुँजी बजार केवल शेयर खरिद–विक्रीमा मात्र सिमित नभई यो एक वृहत संयन्त्र भएको बताउनु भयो । नेपालमा समय–समयमा आयोजना गरिने लगानी सम्मेलनको प्रभावकारितामाथि प्रश्न उठाउँदै अर्यालले वाह्य लगानी भित्र्याउन केवल सम्मेलन मात्र पर्याप्त नहुने तर्क गर्नुभयो । हाल नेपालमा वार्षिक औसत १२ अर्ब रुपैयाँ बराबरको मात्र एफडीआई भित्रिएको बताउनु भयो । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको मनोभावना उल्लेख गर्दै अर्यालले नेपालको सानो बजार र कमजोर कानूनी संरचनाका कारण विदेशी लगानीकर्ताहरू आकर्षित हुन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, एन्जल इन्भेस्टर, क्राउड फन्डिङ र आईपीओ जस्ता आधुनिक अवधारणाहरू पुँजी बजारकै अभिन्न अङ्ग हुन् । यी संयन्त्रहरूलाई प्रभावकारी र सिर्जनशील बनाउनसके मात्रै लगानीको उचित वातावरण निर्माण हुन्छ । यति बराबरको पुँजी त हाम्रो घरेलु पुँजी बजारले नै तत्काल जुटाउन सक्छ । त्यसैले विदेशी लगानीका लागि हामीले उनीहरूको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास बुझ्न जरुरी छ । मैले वाल स्ट्रिटमा रहँदा चिनियाँ र भारतीय बजारमा लगानी गर्ने ठूला कम्पनीका प्रमुखहरूसँग छलफल गर्दा उनीहरूले नेपालको कमजोर नियमन र साघुरो बजारका कारण यहाँ लगानी गर्न चासो नदेखाएको पाएँ । विदेशी लगानी कसैको दया, माया वा अनुरोधका भरमा आउँदैन । यसका लागि सरकारले लगानी सम्मेलन गर्नुअघि आफ्ना कानून, नियम, विधि र प्रक्रियाहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्नुपर्छ । तब मात्र विदेशी लगानीकर्ताहरू आफैँ आकर्षित हुनेछन् ।’
छिमेकी मुलुकहरू चीन र भारतबीच वैदेशिक लगानी आकर्षित गर्न तिब्र प्रतिष्पर्धा भइरहेको उदाहरण दिँदै उहाँले नेपालले पनि आफ्नो कार्यवातावरणलाई थप प्रभावकारी, चुस्त र आकर्षक बनाउनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar