|  

चर्चित अमेरिकी गायिका डली पार्टनको ८० वर्षको उमेरमा निधन

१० भदौ, काठमाडौं ।  अमेरिकाको कन्ट्री म्युजिककी महारानी, महान् गीतकार तथा परोपकारी व्यक्ति डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ ।

न्यासभिलमा नेपाली समयअनुसार बुधबार बिहान उनको निधन भएको हो । क्यान्सरसँगको छोटो लडाइँपछि भेंडरबिल्ट–इन्गग्राम क्यान्सर सेन्टरमा उनको निधन भएको हो । सन् १९४६ जनवरी १९ मा टेनेसीको एक सामान्य परिवारमा जन्मिएकी पार्टन १२ दाजुभाइदिदीबहिनीमध्ये चौथो सन्तान थिइन् ।

अति गरिब परिवारमा हुर्किएकी उनले बाल्यकालमै सङ्गीत सिकेकी थिइन् र ७ वर्षको उमेरमा गीत बजाउन र गीत लेख्न शुरू गरेकी थिइन् । हाई स्कुलको पढाइ सकिएपछि उनी सङ्गीतको सपना बोकेर न्यासभिल पुगेकी थिइन् ।

सन् १९६५ मा पहिलो रेकर्ड डिल गरेकी उनले सन् १९६७ मा ‘द पोर्टर वागोनेर शो’ मार्फत ठूलो ख्याति कमाइन्।

पोर्टर वागोनेरको साथ छोडेर एकल साङ्गीतिक यात्रा थालेकी उनले आफ्नो जीवनकालमा ३,००० भन्दा बढी गीत लेखिन्, ४९ वटा एल्बम रिलिज गरिन् र ११ वटा ग्रामी अवार्ड जितेकी थिइन्। उनको विश्वभर १० करोडभन्दा बढी एल्बम बिक्री भइसकेका छन् भने अनलाइनमा १ अर्बभन्दा बढी स्ट्रिम भएका छन्।