|  

रसुवाको बाढीले विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति बन्द

१० भदौ, काठमाडौं । रसुवामा बुधबार आएको बाढीले विभिन्न जलविद्युत केन्द्र, प्रसारण तथा वितरण संरचनामा क्षति पुर्‍याएको छ ।

बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ।

त्रिशूली र देवीघाट जलविद्युत केन्द्रसहित विभिन्न वितरण संरचनामा समेत क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

बाढीले विद्युतका संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राधिकरणले दिएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।