|  

नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिन रवि लामिछानेको अपिल

१० भदौ, काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

बुधबार बिहान रसुवामा आएको बाढीपछि सामाजिक सञ्जालमार्फत उनले पार्टीका नेता, सदस्य र शुभेच्छुकलाई संयमित तथा जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरेका हुन्।

लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन्।

विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय र विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन उनले आग्रह गरेका छन्।

उनले संवेदनशील समयमा अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाउन पनि अपिल गरेका छन्।

गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्नुका साथै नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने उनको भनाइ छ।