|  

रसुवा बाढीपीडितका लागि डब्ल्युएचओको स्वास्थ्य सहयोग

१० भदाै, काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आपत्कालीन स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको समन्वयपछि डब्ल्युएचओले करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा आवश्यक स्वास्थ्य उपकरण पठाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालनका लागि २४ वर्गमिटरका १५ वटा आपत्कालीन टेन्टसमेत पठाइने भएको छ।

यसैबीच, बाढीमा घाइते भएकाको उपचारका लागि काठमाडौंका वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ। हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौं ल्याइएको छ। आपत्कालीन स्वास्थ्य व्यवस्थापनलाई प्रभावकारी बनाउन संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको छ। नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग पनि उद्धार तथा स्वास्थ्य सेवाका लागि सहकार्य भइरहेको मन्त्रालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्‍याउने र सम्भावित थप बिरामी तथा घाइतेको उपचारका लागि स्वास्थ्य संयन्त्रलाई तयारी अवस्थामा राखिएको मन्त्रालयको भनाइ छ।