|  

रसुवामा पुनः बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

१० भदाै, काठमाडाैं । रसुवामा बाढीको जोखिम अझै टरेको छैन। हिमताल फुटेको भनिएको क्षेत्रमा पानी थुनिएर बनेको करिब ७ मिटर अग्लो संरचना (ड्याम) जुनसुकै बेला फुट्न सक्ने सूचना प्राप्त भएपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का एक अधिकारीलाई चिनियाँ पक्षले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा अझै पानी थुनिएर बनेको संरचना रहेको र त्यसमा क्षति पुगेमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र अन्य टोलीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ। यसअघि भोटेकोशी नदीमा आएको अचानक बाढीले रसुवा र आसपासका क्षेत्रमा जनधनमा क्षति पुर्‍याएको थियो। पछिल्लो सूचनापछि सम्भावित अर्को बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रभावित तथा तटीय क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ।

सम्बन्धित निकायले सम्भावित जोखिमको निरन्तर निगरानी गर्दै आवश्यक सुरक्षा तथा उद्धार तयारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने अवस्था देखिएको छ।