|  

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा तत्काल सञ्चार सम्पर्क पुनःस्थापित गर्न माग

१० भदाै, काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा तत्काल सञ्चार सम्पर्क पुनःस्थापित गर्न माग गर्नुभएको छ । 

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गनुृभएको हो । उहाँले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतलाई प्राथमिकता दिन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो  उहाँले उद्धार कार्यका लागि निजी क्षेत्रका हेलिकोप्टर समेत  आवश्यकताअनुसार परिचालन गर्नुपर्ने बताउनु भयो । सिन्धुपाल्चोक तथा अन्य जिल्लाका नाकामा काम गर्न गएका धेरै व्यक्ति सम्पर्कविहीन रहेको र रसुवामा मोबाइल तथा टेलिफोन सेवा समेत अवरुद्ध भएको जानकारी दिँदै उहाँले तत्काल सञ्चार सम्पर्क पुनःस्थापित गर्न माग गर्नुभयो । उहाँले उत्तर–दक्षिण बग्ने नदीहरूमा अर्ली वार्निङ सिस्टम र सीमापार सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँ विपद्को समयमा सरकारलाई सम्पुर्ण रुपमा सहयोग गर्न नेकपा प्रतिबद्ध रहेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले रसुवा, नुवाकोट र धादिङलाई संकटग्रस्त जिल्ला घोषणा गरेको खबर आएको छ । धन्यावाद दिन चाहान्छु । यो विपद्मा हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षी छैनौँ । हामी सिंगो पार्टी सरकारको साथमा छौँ । हाम्रा पार्टी कार्यकर्तालाई प्रभावित जिल्लामा परिचालित हुनको लागि निर्देशन समेत दिइसकिएको छ । हामी सबै मिले यो विपत्तीको सामना गरौँ । र सबैभन्दा ठुलो कुरा भनेको अहिले उद्धारको पखाईमा रहेका आम नागरिकलाई सुरक्षित स्थानमा ल्याउने र उपचार लगायतको कुरामा निःशुल्क गर्ने प्रबन्ध मिलाऔँ ।’

बाढीको पूर्वसूचना आदानप्रदान नभएको विषयमा गम्भीर समिक्षाा गर्नुपर्ने समेत उहाँको भनाइ छ ।