|  

रसुवाको बाढीमा घाइते २६ जना टिचिङमा, एकको मृत्यु

११ भदाै, काठमाडाैं । रसुवामा तिब्बततर्फबाट आएको विनाशकारी बाढीमा परी घाइते भएका २६ जनालाई बिहीबार बिहानसम्म त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएको छ।

उपचारका क्रममा २५ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार उपचाररत घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले आईसीयूमा उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रबाट अझै ५० देखि ६० जनासम्म घाइतेलाई उपचारका लागि काठमाडौं ल्याउन सकिने जानकारी अस्पतालले पाएको छ। सम्भावित बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले चिकित्सकसहित आवश्यक उपचार टोली र सेवा तयारी अवस्थामा राखेको छ। डा. सेढाईंका अनुसार थप आउने बिरामीमध्ये आईसीयू आवश्यक पर्ने अत्यन्त गम्भीर अवस्थाका भन्दा सामान्य तथा चोटपटक लागेका घाइतेको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ।

यसैबीच, रसुवामा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि उद्धार तथा राहत कार्य जारी छ। प्रभावित क्षेत्रबाट घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा ल्याउने क्रम जारी रहँदा सम्पर्कविहीन आफन्तको खोजीमा परिवारजन अस्पतालसम्म पुगिरहेका छन्।