|  

राहतमा मात्रै सीमित नहुने : विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र बनाइने

११ भदाै, काठमाडाैं । विपद् आएपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुने परम्परागत शैली परिवर्तन गर्दै दीर्घकालीन समाधान खोज्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गरिने भएको छ।

बिहीबार बसेको सर्वदलीय बैठकले विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन र राष्ट्रिय विपद् नीतिमा आवश्यक सुधारका लागि संसदीय समिति गठन गर्ने निर्णय गरेको हो। बैठकपछि जारी संयुक्त वक्तव्यमा सरकारका विपद् व्यवस्थापनसम्बन्धी कामको निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्ने जिम्मेवारी पनि प्रस्तावित संयन्त्रले निर्वाह गर्ने उल्लेख छ। सर्वदलीय संयन्त्रलाई संकटको समयमा मात्र सक्रिय बनाउने नभई विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र दिगो विकासका विषयमा राष्ट्रिय सहमति निर्माण गर्ने माध्यमका रूपमा अघि बढाउने बैठकको निष्कर्ष छ। बैठकले तत्कालीन उद्धार तथा राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणलाई दीर्घकालीन तथा दिगो ढाँचामा अघि बढाउनुपर्नेमा जोड दिएको छ। जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई ध्यानमा राख्दै नीतिगत सुधार आवश्यक रहेको पनि बैठकले औंल्याएको छ।

यसैबीच, विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायलाई सहयोगका लागि अपिल गर्ने निर्णयसमेत बैठकले गरेको छ।

null