|  

सडक र पुल भत्किएपछि रसुवाका घाइतेलाई अस्पताल पुर्‍याउन सकस

११ भदाै, काठमाडाैं । रसुवामा आएको विनाशकारी बाढीपछि घाइतेको उद्धार र उपचार जारी रहे पनि सडक तथा पुलमा भएको क्षतिका कारण प्रभावित क्षेत्रबाट बिरामीलाई अस्पतालसम्म ल्याउन कठिन भएको छ।

त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार बुधबार १६ जना घाइते अस्पताल पुगेका थिए। उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले भर्ना गरेर उपचार भइरहेको छ। बिहीबार थप एक २१ वर्षीय पुरुषलाई उद्धार गरी अस्पताल ल्याइएको छ। उनको अवस्था पनि गम्भीर रहेकाले सिटी स्क्यानसहित उपचार भइरहेको छ। बाढीले सडक र पुलको सम्पर्क टुटाएपछि सवारीसाधनबाट घाइते ल्याउन नसकिने अवस्था रहेको डा. लामाले बताए। अस्पताल आसपास ५ देखि ७ किलोमिटर क्षेत्रका घाइतेलाई उद्धार गर्न सकिए पनि टाढाका बस्तीमा रहेका बिरामीलाई हेलिकोप्टरबाहेक अन्य माध्यमबाट ल्याउन कठिन भएको उनको भनाइ छ।

बाढीपछि खानेपानी, विद्युत् र यातायात सेवा प्रभावित भएकाले तत्काल विदुर–त्रिशूली सडक सम्पर्क पुनःस्थापित गर्नुपर्ने उनले बताए। ठूलो पुल तत्काल बनाउन नसकिए पनि पैदल तथा मोटरसाइकल आवतजावत गर्न मिल्ने अस्थायी बाटो वा पुल निर्माण गर्न सके उद्धार र उपचारमा सहज हुने उनको भनाइ छ। डा. लामाले प्रभावित क्षेत्रमा फसेका घाइतेलाई तत्काल अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन तथा राहत केन्द्रमा सुरक्षित खानेपानी, स्वास्थ्य सेवा र सरसफाइको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।