|  

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री शाह नुवाकोटमा

११ भदाै, काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले बिहीबार नुवाकोटको विदुर नगरपालिका तथा आसपासका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

पूर्वनिर्धारित कार्यक्रम नरहे पनि अन्तिम समयमा प्रभावित नागरिकको अवस्था बुझ्न प्रधानमन्त्री स्वयं नुवाकोट पुगेका हुन्। नुवाकोट पुगेका प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित स्थानीय, घाइते तथा अन्य पीडितसँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका थिए। निरीक्षणपछि उनी काठमाडौं फर्किएका छन्। प्रधानमन्त्री काठमाडौं फर्किए पनि भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल भने नुवाकोटमै छन्। मन्त्री लम्सालसहितको टोली स्थानीय सेनाको ब्यारेकमा पुगेको छ। नेपाली सेनाले नुवाकोटमा जारी उद्धार तथा खोजी कार्यको प्रगतिबारे मन्त्री लम्साललाई जानकारी गराएको छ। त्यस क्रममा मन्त्री लम्सालले प्रभावित क्षेत्रमा शीघ्र प्रतिकार्यलाई तीव्र बनाउन र उद्धार तथा खोजी कार्यमा थप सक्रियता देखाउन निर्देशन दिएका छन्।

यसैबीच सञ्चारमन्त्री विक्रम तिमिल्सिना पनि बाढी प्रभावित क्षेत्रको निरीक्षणमा छन्। उनी बुधबार दिउँसोदेखि नै नुवाकोटका विभिन्न स्थानमा पुगेर अवस्थाको अनुगमन गरिरहेका छन्। प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूको स्थलगत उपस्थितिले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप गति दिने अपेक्षा गरिएको छ।