|  

रसुवा बाढीः चार सयभन्दा बढी यात्रुवाहक सवारीसाधन बेपत्ता

१२ भदौ, काठमाडौं ।  बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढीमा परेर चार सयभन्दा बढी यात्रुवाहक सवारीसाधन बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चार सयभन्दा बढी यात्रुवाहक गाडी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । हालसम्म विभिन्न यातायात कम्पनीबाट २१९ वटा यात्रुवाहक गाडी बेपत्ता भएको विवरण महासंघमा प्राप्त भएको छ ।

अन्य कम्पनीबाट पनि विवरण आउने क्रम जारी रहेकाले बेपत्ता सवारीसाधनको संख्या अझ बढ्न सक्ने छ । पर्यटन, तीर्थ र सर्वसाधारण बोकेर हिँडेका चार सयभन्दा बढी गाडी बाढीमा बेपत्ता भएको प्रारम्भिक अनुमान छ ।  मानसरोवर जाने तीर्थयात्रु बोकेका मात्रै करिब ४० वटा गाडी बेपत्ता छन् ।

यसैगरी ६० भन्दा बढी साना माइक्रोबससमेत हराएको प्रारम्भिक विवरण छ ।बाढीमा परेर पाँच सयभन्दा बढी मालवाहक ट्रक पनि बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ । सामान लिन चीन प्रवेश गरेका मात्रै तीन सय हाराहारी ट्रक बाढीमा परेको व्यवसायीहरूले बताएका छन् ।

यसबाहेक विभिन्न सडकखण्डमा भएका मालवाहक गाडी पनि बेपत्ता भएका छन् । सीमाक्षेत्रमा भन्सार पासकै लागि रोकिएका करिब दुई सय मालवाहक गाडी पनि बेपत्ता भएका छन् ।