|  

तिब्बतमा बढ्दै छ नदी थुनिएर बनेको ताल, फुट्ने जोखिम

१२ भदौ, काठमाडौं ।  चीनको तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोसी नदी हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीले ठूलो जनधनको क्षति गरिसकेको छ ।

तर, जोखिम अझै कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको छ । त्यो ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको महाशाखाले जनाएको छ ।

‘चीन सरकारबाट प्राप्त सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणानुसार, भाद्र १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको छ,’महाशाखाले भन्यो । 

अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।