|  

विपद्का बेला स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

१२ भदाै, काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोपछि उद्धार तथा उपचार सेवा प्रभावित हुन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ।

मन्त्रालयले सार्वजनिक बिदाका दिनसमेत खोज, उद्धार तथा उपचार सेवाका लागि आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएको हो। प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको सूचनामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार र राहतका काम जारी रहेको जनाएको छ। विपद् व्यवस्थापनका लागि आवश्यक कर्मचारी जुनसुकै बेला परिचालन गर्नुपर्ने अवस्था रहेकाले मन्त्रालय मातहतका कर्मचारीको विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्न/नगराउन भनिएको छ।

खोज, उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई सार्वजनिक बिदाका दिनसमेत कार्यालयमा उपस्थित भएर आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ। अन्य कर्मचारीलाई पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि तयारी अवस्थामा रहन मन्त्रालयले भनेको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई भने बाढीपहिरोबाट प्रभावित तथा घाइतेको उपचारमा कुनै कमी हुन नदिन सार्वजनिक बिदाका दिनसमेत आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ। मन्त्रालयले विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सेवा, उद्धार तथा उपचार कार्यमा आवश्यक जनशक्ति परिचालनलाई प्राथमिकतामा राखेको जनाएको छ।