|  

नेपालका विपद् प्रभावित क्षेत्रमा आपत्कालीन सहायता पठाउने चीनको निर्णय

१२ भदाै, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले नेपालमा विपद्बाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

साथै, अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ। राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बिहीबार बसेको सीपीसीको राजनीतिक ब्युरो बैठकले चीनको केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोको अवस्थाबारे समीक्षा गर्दै नेपाललाई समेत आवश्यक सहयोग गर्ने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

बैठकमा राष्ट्रपति सीले विपत्तिपछि जारी खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए। बैठकको सुरुवातमा ग्यिरोङ सीमा क्षेत्रमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा सीसहित चिनियाँ नेताहरूले एक मिनेट मौनधारण गरेका थिए। हिमाली क्षेत्रमा भएको विपत्तिका कारण भिराला भूभाग, परिवर्तनशील मौसम, हिमनदी तथा हिमताल र सम्भावित भौगर्भिक जोखिमले उद्धार कार्य चुनौतीपूर्ण बनेको बैठकले जनाएको छ। बैठकले उद्धार कार्यलाई वैज्ञानिक र व्यवस्थित ढंगले अघि बढाउँदै बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।