|  

भोटेकोशीमा बाढीको जोखिम कायमै, उद्धारमा खटिएकाहरुलाई सावधानी अपनाउन अपिल

१३ भदौ, काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ ।

भोटेकोशी र त्रिशूलीमा हाल जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम रहेकाले नदी किनारमा आवतजावत नगर्न र पूर्वसूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ।

चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको र ताल फुट्ने जोखिम रहेको छ ।

ताल फुटेमा ढुङ्गा, माटो र गेग्रानसहित अचानक बाढी आउन सक्ने भन्दै भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारकर्मीलाई नदी किनारबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।