|  

रसुवाको बाढीमा ३२० भारतीय नागरिक अझै सम्पर्कविहीन, ८४ जनाको उद्धार

१३ भदाै, काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ३२० जना भारतीय नागरिक अझै सम्पर्कविहीन रहेको भारतले जनाएको छ।

भारतको विदेश मन्त्रालयले शुक्रबार राति सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकको खोजी तथा उद्धार कार्य जारी छ। विदेश मन्त्रालयका अनुसार हालसम्म ८४ जना भारतीय नागरिकको सुरक्षित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तमिलनाडुका २१ जना पर्यटक पनि छन्। उनीहरू शुक्रबार नै सुरक्षित रूपमा भारत फर्किएका छन्।

यस्तै, त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ६३ जना भारतीय नागरिकलाई पनि सुरक्षित उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। बाढीका कारण चीनतर्फ रोकिएका भारतीय नागरिकको उद्धारमा पनि प्रगति भएको छ। मन्त्रालयका अनुसार चीनबाट थप १४९ जना भारतीय नागरिक सुरक्षित रूपमा नेपाल प्रवेश गरेका छन्। करिब ४०० भारतीय नागरिक अझै चीनमै सुरक्षित अवस्थामा रहेको र उनीहरूसँग भारतीय दूतावासले निरन्तर सम्पर्क गरिरहेको जनाएको छ।उनीहरूलाई पनि सुरक्षित रूपमा नेपाल हुँदै भारत ल्याउने प्रयास भइरहेको मन्त्रालयको भनाइ छ।

भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले रसुवासहित सीमावर्ती क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि नेपालमा सयौँको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस अझै बेपत्ता छन्। उद्धार टोलीले कठिन भौगोलिक अवस्था र थप बाढीको जोखिमबीच खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। भारतीय विदेश मन्त्रालयको यो विवरण शुक्रबार राति १० बजेसम्मको अवस्थाका आधारमा रहेको बताइएको छ। पछिल्लो तथ्यांकसँगै बेपत्ता तथा उद्धार गरिएका नागरिकको संख्या परिवर्तन हुन सक्नेछ।