१३ भदाै, काठमाडाैं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग र सद्भाव रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेट गरी उहाँले प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल गर्नुपर्ने सुधारका कार्यहरूबारे ध्यानाकर्षण गराउनुभएको हो । भेटका क्रममा नेता आङ्देम्बेले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा देखिएका समस्याहरू प्रधानमन्त्रीसमक्ष राख्नुभयो । उहाँले आयुर्वेदिक अस्पतालमा राखिएका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था, त्यहाँ शैय्या, औषधि र जनशक्तिको अभावका विषयमा जानकारी गराउनु भयो । विपद्को यस घडीमा सरकारी संयन्त्रले मात्र सबै कार्य गर्न कठिन हुने भएकाले निजी क्षेत्र र इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउन उहाँले सुझाव दिनुभयो । जवाफमा प्रधानमन्त्रीले निजी क्षेत्र र वैदेशिक सहयोगका लागि सरकारले अनुमति दिइसकेको जानकारी दिनुभयो । छिमेकी मुलुक चीनबाट आउन लागेको सहयोग टोली प्रतिकूल मौसमका कारण रोकिएको र अन्य मुलुकहरूबाट पनि सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्रीको भनाइ छ । नेता आङ्देम्बेले विशेष गरी नुवाकोट लगायतका क्षेत्रमा बाढीपहिरोपछिको दुर्गन्धका कारण महामारी फैलिन सक्ने जोखिम बढेको भन्दै यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुर्गन्धका कारण भयावह अवस्था सिर्जना भई ठूलो महामारी फैलिन सक्ने खतरा छ, त्यसैले त्यो भूगोल र त्यहाँका जनतालाई सुरक्षित राख्न सरकारले तत्काल कदम चाल्नुपर्छ ।’
उद्धार कार्यका लागि हेलिकोप्टरको प्रयोग र व्यवस्थापनका विषयमा पनि उहाँले जोड दिनुभयो । नुवाकोटका विभिन्न स्थानमा सडक र पुल भत्किएका कारण आवतजावत ठप्प भएको र परिवारका सदस्यहरू अलग–अलग स्थानमा अलपत्र परेकाले उनीहरूको मानसिक अवस्थालाई मध्यनजर गर्दै थप हेलिकोप्टर परिचालन गरी सहज पहुँच बनाउन उहाँले माग गर्नुभयो । नेपाली काँग्रेसको आन्तरिक तयारीका बारेमा जानकारी दिँदै नेता आङ्देम्बेले पार्टीले संस्थागत रूपमै राहत कोष खडा गरेको र हेल्पलाइनमार्फत सहयोग कार्य शुरु गरिसकेको बताउनु भयो । उहाँकाअनुसार आगामी सोमवार पार्टीका सभापति गगनकुमार थापा नेतृत्वको टोली प्रभावित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम रहेको छ । विपद्को यस समयमा प्रतिपक्षको भूमिका सहयोगी रहने स्पष्ट पार्दै उहाँले सरकारलाई दृढताका साथ अगाडि बढ्न र जनतालाई छिटोभन्दा छिटो सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar