|  

सरकारले ‘टनेल रेस्क्यु’ का लागि भारत र चीनसँग सहयोग माग्योः हिमालयन पारिस्थितिक प्रणाली संरक्षणमा विश्व समुदायलाई गुहार्‍यो

१३ भदाै, काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमालयन पारिस्थितिक प्रणालीमा आएको परिवर्तनले नेपाल र यस क्षेत्रका अन्य मुलुकहरूमा गम्भीर जोखिम निम्त्याएको भन्दै यसको संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । 

शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न विश्वव्यापी प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको हो । नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा मात्र ०.०१ प्रतिशत योगदान पु¥याए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र गम्भीर असर भोग्नुपरिरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार सरकारले यस क्षेत्रको बदलिँदो स्वरूप र यसले नेपाल तथा छिमेकी चीनसहितका तल्लो तटीय क्षेत्रमा पार्ने प्रभावबारे स्वतन्त्र रूपमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ । विपद् व्यवस्थापन र पूर्वसूचना प्रणालीका सम्बन्धमा बोल्दै मन्त्री खनालले चीन सरकारसँगको समन्वयमा संयन्त्र निर्माण गर्ने प्रक्रिया अघि बढिरहेकै बेला पछिल्लो प्राकृतिक विपद् आएको जानकारी दिनुभयो । चीनतर्फ पनि विपद्ले ठूलो क्षति पु¥याएको र दुवै देशका अधिकारीहरूबीच सूचना आदानप्रदान भइरहेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री खनालले भन्नुभयो, ‘नेपाली जनता जलवायु परिवर्तनको मुख्य मारमा परेका छन् । हिमालयन पारिस्थितिक प्रणालीको रक्षाका लागि हामीले विश्व समुदायलाई ऐक्यवद्ध हुन आग्रह गरेका छौँ । विपद्पश्चात् हामी चिनियाँ अधिकारीहरूसँग निरन्तर सम्पर्क र समन्वयमा छौँ ।  उहाँहरूले सीमा क्षेत्रको भौगोलिक अवस्था र सम्भावित जोखिमबारे नियमित रूपमा तथ्याङ्क तथा जानकारी उपलब्ध गराइरहनुभएको छ । हाम्रा सुरक्षाकर्मीहरूले अत्यन्तै चुनौतीपूर्ण अवस्थामा काम गरिरहेका छन् । कतिपय क्षेत्र दलदले जमिनमा परिणत भएकाले उपकरण लैजान र अवतरण गर्न कठिन छ ।’

मन्त्री खनालले विपद्मा परेका विदेशी नागरिकहरूको उद्धार कार्यबारे पनि अद्यावधिक विवरण सार्वजनिक गर्नुभयो । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार हालसम्म १८७ जना विदेशी नागरिकको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११४ जना भारतीय, २७ जना चिनियाँ र २० जना कोरियाली नागरिक रहेका छन् । उहाँले अझै ४२० जना विदेशी नागरिक बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो । बेपत्ता हुनेहरूमा जापानी नागरिक समेत रहेको र उनीहरूको खोजीका लागि सरकारले सक्रियता देखाइरहेको उहाँको भनाइ छ । उद्धार कार्यमा देखिएका चुनौतीबारे चर्चा गर्दै मन्त्री खनालले नुवाकोट र रसुवा जस्ता जिल्लाको भौगोलिक विकटताका कारण कठिनाइ भइरहेको बताउनु भयो । रसुवा सडक सञ्जालबाट पूर्णतः विच्छेद भएको र साँघुरा खोंचहरूका कारण ठूला हेलिकप्टरहरू उडाउन समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपालले अहिले विशेष गरी ‘टनेल रेस्क्यु’ (सुरुङ उद्धार) का लागि भारत र चीनसँग सहयोग मागेको छ । भारतीय टोली नेपाल आइसकेको र चिनियाँ टोली पनि सीमा पार गरेर आउने क्रममा रहेको उहाँले बताउनु भयो । यसका साथै, फेला परेका शवहरूको संरक्षणका लागि नेपालको क्षमता सीमित रहेकाले शव गृहका लागि आवश्यक ‘फ्रीजर’ उपलब्ध गराउन अन्तर्राष्ट्रिय निकायहरूसँग आग्रह गरिएको मन्त्री खनालले जानकारी दिनुभयो । नेपालले आवश्यकताका आधारमा मात्र विदेशी विशेषज्ञ टोलीहरूलाई आमन्त्रण गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल