१३ भदाै, काठमाडाैं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनर्लाभका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस विपद्को पछिल्लो अवस्था र सरकारका प्रयासहरूबारे औपचारिक जानकारी दिनुभएको हो । परराष्ट्रमन्त्री खनालकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ सय ८७ विदेशी नागरिकसहित ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ । विपद्मा परी हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ भने करिव २ हजार ४ सय व्यक्ति अझै बेपत्ता छन् । खोजी र प्रमाणीकरणको कार्य जारी रहेकाले हताहती र क्षतिको संख्यामा फेरबदल हुनसक्ने भन्दै मन्त्रालयले आधिकारिक सूचनामा मात्र विश्वास गर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ । बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाहरूमा सुरक्षा निकाय, प्रादेशिक तथा स्थानीय सरकार र स्वास्थ्यकर्मीहरूको टोली निरन्तर खटिएको छ । जटिल भौगोलिक अवस्था र सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सरकारले छिमेकी मुलुकहरूसँग विशेष प्रविधि र जनशक्ति माग गरेको छ ।
यसै क्रममा भारतबाट ११ सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएर कार्य शुरु गरिसकेको छ भने चीनबाट पनि सुरुङ उद्धार टोली शिघ्र आइपुग्ने मन्त्री खनालले जानकारी दिनुभयो । भारतबाट हालसम्म ५७ टनसभन्दा बढी राहत सामग्री प्राप्त भइसकेको छ । चीन, जापान र अष्ट्रेलिया लगायतका मुलुकहरूले पनि अत्यावश्यक सामग्री उपलब्ध गराएका छन् । मन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीसँग संवाद गरी सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गर्नुभएको छ ।
नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भनी केही विदेशी सञ्चारमाध्यममा आएका समाचारको मन्त्री खनालले खण्डन गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विनाशको स्तर अत्यन्त ठूलो छ । हामीलाई उद्धार र राहतमा मात्र नभई पुनर्निर्माण र पुनःस्थापनाको चरणमा ठूलो वैदेशिक सहयोगको आवश्यकता पर्नेछ ।’
विपद् व्यवस्थापनका लागि इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अनलाइन वा क्यूआर कोडमार्फत सहयोग गर्नसक्ने व्यवस्था मिलाइएको छ । साथै, नेपाल भ्रमणका लागि असुरक्षित रहेको भन्ने भ्रमलाई चिर्दै मन्त्री खनालले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन, जनकपुरका साथै अन्नपूर्ण र एभरेष्ट क्षेत्र लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरू सुरक्षित र सञ्चालनमा रहेको स्पष्ट पार्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अर्थतन्त्र सबल बनाउन पर्यटनमार्फत सहयोग गर्न अपिल गर्नुभयो ।
सरकारले बाढी र हिमपहिरोको जोखिम न्युनिकरणका लागि दीर्घकालीन योजना अघि सारेको छ । भोटेकोशी र अन्य नदी प्रणालीहरूमा पूर्वसूचना प्रणाली जडान गर्ने र यस्ता प्राकृतिक प्रकोपबारे विस्तृत अनुसन्धान गरिने मन्त्री खनालले बताउनु भयो । यसका लागि त्रिभूवन विश्वविद्यालय र चिनियाँ एकेडेमी अफ साइन्सेसबीचको संयुक्त संयन्त्रमार्फत अनुसन्धान कार्य अघि बढाइने उहाँको भनाइ छ ।
मन्त्रालयले विदेशी नागरिकहरूको पहिचान र सम्पर्कका लागि ‘डेडिकेटेड इमर्जेन्सी कन्ट्रोल रुम’ स्थापना गरेको छ र कुटनीतिक नियोगहरू मार्फत निरन्तर समन्वय गरिरहेको छ । विपद्को यस घडीमा प्राप्त अन्तर्राष्ट्रिय सद्भाव र सहयोगप्रति सरकारले विशेष आभार प्रकट गरेको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar