|  

नेपाल-चीन सीमा क्षेत्रमा १ लाख वर्गमिटरको ताल, अर्को ताल पनि पहिचान

१४ भदौ, काठमाडौं । नेपाल-चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ ।

चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनका अनुसार एन्नेङ ग्रुपको अगस्ट २९ सम्म गरेको अनुगमनमा यस्तो तथ्यांक देखिएको हो । पहिरोले थुनिएर बनेको ताल लगभग १४ वटा मानक फुटबल मैदान बराबर रहेको अनुमान गरिएको छ । यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांकलई उद्धृत गर्दै सीजीटीएनले जानकारी दिएको छ ।

यसैबीच, दोस्रो बाँध ताल-२ पनि पहिचान गरिएको छ, जुन उक्त स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको छ ।  भदौ १० गतेको भीषण बाढी पछि चिनियाँ पक्षले थप जोखिमबारे निरन्तर अध्ययन र अनुगमन गरिरहेको छ ।