|  

सन्दीपको घोषणा : एक महिनाको तलब बाढीपीडितका लागि, हरेक विकेट र बाउन्ड्रीमा पनि सहयोग

१४ भदाै, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढी प्रभावित नागरिकको सहयोगका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरेका छन् ।

एसीसी प्रिमियर कपका लागि मलेसियामा रहेका सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने एक महिनाको १ लाख २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएका हुन् । देशभन्दा टाढा रहे पनि आफूहरूको मन नेपालमै रहेको उल्लेख गर्दै सन्दीपले बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेका छन् । उनले प्रतियोगिताभर नेपाली टोलीको प्रदर्शन बाढी प्रभावित नागरिकप्रति समर्पित गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

सन्दीपको सहयोग घोषणा व्यक्तिगत पारिश्रमिकमा मात्र सीमित छैन । एसीसी प्रिमियर कपमा नेपालले लिने हरेक विकेटबापत १ हजार ५०० रुपैयाँ तथा प्रहार गर्ने हरेक चौका र छक्काबापत पनि १ हजार ५०० रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गर्ने उनले बताएका छन् । ‘उनीहरूको सपना कुनै बाढीले बगाउन सक्दैन’ भन्दै सन्दीपले प्रभावित बालबालिकाको भविष्यप्रति आफूहरूको जिम्मेवारी रहेको संकेत गरेका छन् । उनका अनुसार प्रतियोगितामा नेपालले लिने हरेक विकेट, प्रहार गर्ने हरेक बाउन्ड्री र खेलमा हुने हरेक हुटिङ प्रभावित नागरिकका लागि समर्पित हुनेछ ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । एसीसी प्रिमियर कपको समूह चरणमा नेपालले बहराइन, साउदी अरेबिया, आयोजक मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।