|  

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

१४ भदाै, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि नेपालमा उपलब्ध जनशक्तिको विज्ञता पर्याप्त नहुने अवस्था देखिए आवश्यक परे विदेशी सहयोग लिन सरकार पछि हट्न नहुने बताएका छन् ।

आइतबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवालाबीचको छलफलमा थापाले विपद्का बेला छिमेकीसहित अन्य मुलुकबाट सहयोग लिनु स्वाभाविक भएको बताए । सुरुङमा उद्धारका लागि स्वदेशी विज्ञताले मात्र नपुग्ने जानकारी पाएपछि आफूले परराष्ट्रमन्त्रीसँग सम्पर्क गरी बाह्य मुलुकबाट सहयोग लिन आग्रह गरेको उनले जानकारी दिए । ‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी बाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु,’ थापाले भने ।

बाढी, पहिरो र डुबानका कारण मुलुक प्रभावित भइरहेका बेला कांग्रेसले सरकारलाई उद्धार तथा राहत कार्यमा पूर्ण सहयोग गर्ने निर्णय गरेको छ । साथै, उद्धार र राहत व्यवस्थापनका क्रममा देखिएका कमजोरीबारे सरकारको ध्यानाकर्षण गराउने कांग्रेसले जनाएको छ । थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षको दायित्व भएको बताए । सरकारको काममा देखिएका ‘ग्याप’ र कमजोरी औंल्याउनु सरकारको आलोचना मात्र नभई विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग गर्नु भएको उनको भनाइ छ ।

थापाले विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै संघीय सरकारलाई स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न आग्रह गरे । स्थानीय सरकारलाई पन्छाएर उद्धार तथा राहत अभियान प्रभावकारी बनाउन नसकिने उनको तर्क छ । प्रभावित क्षेत्रको वास्तविक अवस्था र आवश्यकताबारे स्थानीय तहसँग बढी जानकारी हुने भएकाले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उनले बताए ।

देश शोकमा रहेका बेला कांग्रेसका कुनै पनि तहबाट सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न थापाले निर्देशन दिएका छन् । हजारौँ नागरिक प्राकृतिक विपत्तिबाट प्रभावित भएको अवस्थामा पार्टीको प्राथमिकता उद्धार, राहत संकलन र वितरणमा केन्द्रित हुनुपर्ने उनले बताए । ‘हरितालिका तीज लगायतका पर्वहरूलाई सामान्य रूपमा मनाउन सकिन्छ तर सार्वजनिक उत्सव र भड्किलो कार्यक्रम नगर्न म आग्रह गर्दछु,’ थापाले भने ।

थापाको नेतृत्वमा कांग्रेसको विपद् व्यवस्थापन टोली सोमबारदेखि प्रत्यक्ष प्रभावित क्षेत्रमा जाने भएको छ । टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै राहत तथा उद्धार कार्यमा समन्वय गर्नेछ । स्थलगत अवलोकनबाट प्राप्त वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव दिने र आवश्यक दबाब सिर्जना गर्ने थापाले बताए ।