|  

फुर्केखोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन, वैकल्पिक मार्ग खोजिँदै

१४ भदाै, काठमाडौं । बाढीले क्षति पुर्‍याएको काठमाडौं–धादिङबेसी जोड्ने फुर्केखोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ ।

पुलको स्थलगत निरीक्षणपछि सडक विभागका महानिर्देशक डा. विजय जैसीले पुलको लामो स्पान र एउटा पियर बगेका कारण तत्काल बेलीब्रिज राख्न समस्या हुने बताए । ‘पुलको लम्बाइ र पियरको अवस्थालाई हेर्दा तत्काल बेलीब्रिज राख्न केही कठिन हुने देखिएको छ,’ जैसीले भने । उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने देखिएपछि विभागले अन्य विकल्पबारे अध्ययन गरिरहेको छ । पुलको विस्तृत मापनका लागि प्राविधिक टोली खटाइने उनले जानकारी दिए ।

विभागले हालका संरचना प्रयोग गरी नयाँ डेक निर्माण गर्ने वा पुरानो पुलसँग जोडेर नयाँ पुल बनाउने विकल्पमा अध्ययन गर्ने भएको छ । आवश्यक परे पूर्ण रूपमा नयाँ पुल निर्माण गर्ने विकल्पसमेत खुला राखिएको छ । यातायात तत्काल सञ्चालन गर्न सकिने उपायबारे प्राविधिक अध्ययनपछि छिट्टै निर्णय गरिने जैसीले बताए । उनका अनुसार बाढीपछि मासटारतर्फको पुल सुरक्षित रहेकाले फुर्केखोलाबाट मासटारसम्मको सडकलाई हाल वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ ।