|  

बाढी प्रभावित क्षेत्रमा तीन तहका सरकारबीच समन्वय गर्न मुख्यमन्त्रीको जोड

१४ भदाै, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहत व्यवस्थापनबारे छलफल भएको छ।

चमतिस्थित रास्वपा केन्द्रीय कार्यालयमा भएको भेटमा मुख्यमन्त्री थापा मगरले संघ, प्रदेश र स्थानीय सरकारबीच पर्याप्त समन्वय हुन नसकेको गुनासो गरेका थिए। उनले प्रभावित क्षेत्रमा राहत पुर्‍याउन कठिनाइ भइरहेको, तीन तहका सरकारको जिम्मेवारी स्पष्ट गर्नुपर्ने तथा खोला किनारका जोखिमयुक्त बस्ती तत्काल स्थानान्तरणका लागि समन्वय आवश्यक रहेको बताए।

जवाफमा लामिछानेले विपद्का बेला तीनै तहका सरकारले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। स्थानीय र संघीय सरकारबीच समन्वय गराउने भूमिका प्रदेश सरकारले खेल्नुपर्ने भन्दै उनले संघीय सरकारबाट आवश्यक सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाए।