|  

जलविद्युत आयोजनाका टनेलमा सेनाको खोजी तीव्र, हेलिकोप्टरबाट २३ जनाको उद्धार

१६ भदाै, काठमाडौं । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको नेपाली सेनाले आज हेलिकोप्टरमार्फत २३ जनाको उद्धार गरेको छ।

सेनाका अनुसार विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले प्रभावित जलविद्युत आयोजनाका टनेलहरूमा प्रवेश गरी बेपत्ताको खोजी गरिरहेको छ। टोलीले चिलिमे हाइड्रोको टनेलमा करिब ५० मिटर, लाङटाङ हाइड्रोमा करिब १५० मिटर र अपर त्रिशूली-१ हाइड्रोको टनेलमा करिब २०० मिटरसम्म प्रवेश गरेर खोजी गरेको सेनाले जनाएको छ।

यसैगरी, त्रिशूली-३ ‘ए’ आयोजनामा टनेल हेड फेला पारिएको छ। टनेलभित्र हावा प्रवाह गराउन कम्प्रेसर प्रयोग गरिएको छ भने पानी निकाल्ने काम पनि भइरहेको छ। टनेलसम्म पुग्न वैकल्पिक मार्ग खोल्ने कामसमेत अघि बढाइएको छ। सेनाका अनुसार तीनवटा डोजर प्रयोग गरी पछाडितर्फको करिब १५ मिटर वैकल्पिक मार्ग खोलिएको छ। ब्रेकर प्रयोग गरेर टनेलभित्र प्रवेश गर्ने स्थान बनाउन ढुंगा फुटाउने काम जारी छ। त्रिशूली-३ ‘बी’ आयोजनामा पनि विज्ञसहितको टोली परिचालन गरिएको छ। टोलीले टनेल प्रवेश गर्ने सम्भावित द्वार पहिचान गरी डोजरमार्फत खन्ने काम गरिरहेको सेनाले जनाएको छ। सेनाका अनुसार बाढीपछि तत्काल सञ्चालन गरिएको उद्धार अभियानमा विभिन्न जलविद्युत आयोजना तथा आसपासका क्षेत्रबाट २७९ जनालाई जीवितै उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली-१ बाट ३३ जना, माथिल्लो त्रिशूली-३ ‘ए’ बाट २२१ जना, माथिल्लो त्रिशूली-३ ‘बी’ बाट २ जना, मैलुङबाट ९ जना तथा नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना छन्। यस्तै, त्रिशूली जलविद्युत आयोजनाबाट ३ जना र देवघाट जलविद्युत आयोजनाबाट ५ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रको उद्धार तथा व्यवस्थापनका लागि नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजार २ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाको टोलीले घाइते तथा बेपत्ताको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने र प्रभावित क्षेत्रमा आपत्कालीन उपचारलगायतका कामलाई समन्वयात्मक रूपमा अघि बढाइरहेको जनाएको छ।