|  

विपद् उद्धार र शव पहिचानमा नेपाललाई भारत, चीन र कोरियाको प्राविधिक सहयोग

१६ भदाै, काठमाडौं । विपद्पछि खोज, टनेल उद्धार र शव पहिचानका लागि नेपालले मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतबाट आएको २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँगको समन्वयमा चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा परिचालित छ। चीनको ९ सदस्यीय टोली माथिल्लो त्रिशूली-३ ‘ए’ आयोजनामा उद्धार कार्यमा खटिएको छ भने दक्षिण कोरियाबाट समेत उद्धार टोली नेपाल आएको छ। शव पहिचानका लागि भारतबाट १९ सदस्यीय डीएनए विज्ञ टोली गत २९ अगस्टदेखि कार्यक्षेत्रमा रहेको मन्त्रालयले जनाएको छ। चीनबाट ४ सदस्यीय फोरेन्सिक टोली परिचालन गरिएको छ भने सिंगापुरबाट विपद् पीडित पहिचानसम्बन्धी टोली ल्याउन समन्वय भइरहेको छ।

तत्काल पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी रूपमा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विपद्बाट भएको क्षतिको विस्तृत मूल्याङ्कनपछि ‘विपद्पछिको आवश्यकता मूल्याङ्कन’ तयार गरिनेछ। त्यसैका आधारमा दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरिने प्रवक्ता पौडेलले बताए।