|  

उद्धार र राहतमा सम्पूर्ण शक्ति लगाएका छौं,केही कमजोरी भए माफी चाहन्छौँः गृहमन्त्री गुरुङ 

१७ भदौ, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले बाढीपछिको खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाएको दाबी गरेका छन् ।

कामको क्रममा केही कमजोरी भएको हुन सक्ने भन्दै उनले माफीसमेत मागेका छन् । मंगलबार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कल्पना नै नगरेको क्षति हुँदा उद्धारमा केही कठिनाइ भएको बताए ।

सुरुङमा रहेका व्यक्तिको सकुशल उद्धारमा हरसम्भव प्रयास गरिरहेको उनको दाबी छ । सीमित स्रोत–साधनका बाबजुद सुरक्षाकर्मीहरूले अधिकतम प्रयास गरिरहेको मन्त्री गुरुङको दाबी छ ।

नेपालको इतिहासमा विपत्को उद्धारमा यति धेरै हेलिकोप्टर प्रयोग भएको पहिलोपटक भएको उनी बताउँछन् । ‘राज्यको भएभरको संयन्त्र हामीले प्रयोग गरेका छौँ,’ उनले भने, ‘राहत पनि सबैतिर पठाउने अधिकतम प्रयास गरिरहेका छौँ, राज्यको तर्फबाट कुनै ठाउँमा कमी हुन पुगेको खण्डमा हामीलाई खबर गर्नुहोला, कति ठाउँमा हाम्रो कमजोरी भयो होला, सबै ठाउँमा राज्य संयन्त्र पुग्न सकेन होला, यसमा नेपाल सरकार तपाईंहरूसँग माफी माग्न चाहन्छ ।’