|  

रसुवा बाढीपीडितका लागि अमेरिकाबाट ४० टनभन्दा बढी राहत सामग्री

१७ भदौ, काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउन अमेरिकाबाट पठाइएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।

अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको राहत सामग्रीमा बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट तथा सौर्य बत्ती रहेका छन्। उक्त सामग्रीबाट स्थानीय स्तरमा बाढी प्रभावित क्षेत्रमा कार्यरत संस्थामार्फत करिब २ हजार ६ सय परिवार लाभान्वित हुने जनाइएको छ। विशेषगरी स्वच्छ खानेपानी, अस्थायी आवास, सरसफाइ र प्रकाशको व्यवस्थामा राहत सामग्री उपयोगी हुने अपेक्षा गरिएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार बाढी प्रभावित क्षेत्रमा जीवनरक्षक सहायता प्रभावकारी रूपमा पुर्‍याउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग निरन्तर समन्वय भइरहेको छ।

बाढीपछि प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग जुटिरहेका बेला अमेरिकाबाट आएको यो राहत सामग्रीले रसुवाका प्रभावित समुदायलाई केही हदसम्म राहत पुग्ने अपेक्षा गरिएको छ।