|  

सुरुङमा फसेकाको उद्धारमा सरकार चुक्यो : कांग्रेस

१७ भदाै, काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीपछि सुरुङभित्र फसेका मानिसको उद्धारमा सरकारले ढिलाइ गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उद्धारमा सरकारको तयारी र कार्यशैलीप्रति प्रश्न उठाउँदै ‘अदूरदर्शिता र अकर्मण्यता’ देखिएको निष्कर्ष निकालेको हो। भदौ १० गते आएको बाढीपछि विभिन्न क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम भइरहेका बेला प्रतिष्ठानले सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारलाई प्राथमिकताका साथ अघि बढाउन नसकिएको जनाएको छ। उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रतिष्ठानले सुरुङमा मानिस फसेको जानकारी विश्वभर पुगेको अवस्थामा नेपालको क्षमता र विज्ञताले मात्रै सम्भव नभए तत्काल अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिनुपर्ने धारणा राखेको छ।

बैठकपछि प्रतिष्ठानले जारी गरेको धारणा अनुसार सुरुवाती २-३ दिनमै उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनु सरकारको जिम्मेवारी थियो। तर अन्तर्राष्ट्रिय सहयोग लिन अनिच्छा देखाउने, त्यसमा ढिलाइ गर्ने तथा जलविद्युत आयोजनाका प्रवर्द्धक र निर्माण कम्पनीलाई समेत समयमै उद्धारका लागि अनुमति नदिने सरकारी व्यवहार गलत भएको कांग्रेसको भनाइ छ। कांग्रेसले यस्तो कार्यशैली अन्ततः अमानवीय बन्दै गएको टिप्पणी गरेको छ। यद्यपि, उद्धार अभियानमा निरन्तर खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य प्रशासनिक निकायका कर्मचारीको भूमिकाको भने प्रतिष्ठानले प्रशंसा गरेको छ। बैठकले सुरुङभित्र फसेकाहरूको तत्काल उद्धार र सुरक्षित निकासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।