१७ भदाै, काठमाडाैं । श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठकलाई लिएर देखिएको अन्योल र असन्तुष्टिको चर्चाबीच वरिष्ठ नेता सुदन किराँतीसहित उनको समूहका नेताहरू बुधबारको बैठकमा सहभागी भएका छन्।
मंगलबारदेखि धरानमा सुरु भएको बैठकको पहिलो दिन किराँती नेतृत्वको समूहलाई सहभागी नगराइएपछि पार्टीभित्र असन्तुष्टि बढेको चर्चा भएको थियो। तर पार्टी अध्यक्ष हर्क साम्पाङ र वरिष्ठ नेता किराँती दुवै पक्षले भने बैठकको कार्यक्रम पहिल्यै तय भएको भन्दै विवाद नरहेको दाबी गर्दै आएका थिए। पार्टी महासचिव आरेन राईले पनि मंगलबारको बैठक पूर्वनिर्धारित कार्यक्रमअनुसार नै भएको र बाहिर अनावश्यक हल्ला चलेको बताएका थिए। किराँतीले समेत बुधबार आफू बैठकमा सहभागी हुने भन्दै अनावश्यक भ्रममा नपर्न आग्रह गरेका थिए।
श्रम संस्कृति पार्टीको मूल केन्द्रीय समिति एकताअघि २३ सदस्यीय थियो। किराँती नेतृत्वको समूहसँग पार्टी एकता भएपछि एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य थपिएका थिए। त्यसपछि पार्टीको केन्द्रीय समिति ४१ सदस्यीय बनेको हो। एकताका क्रममा किराँतीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो। अध्यक्ष साम्पाङले त्यतिबेला किराँतीलाई कोशी प्रदेशको भावी मुख्यमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा समेत सार्वजनिक रूपमा प्रस्तुत गरेका थिए। एकतापछि पूर्वी नेपालमा संगठन विस्तार र विभिन्न तहका जनप्रतिनिधिलाई पार्टीमा आबद्ध गराउने अभियानमा किराँती समूह सक्रिय रहँदै आएको थियो।
पार्टी एकता भएको करिब चार महिना नबित्दै दुई पक्षबीच असन्तुष्टिको संकेत देखिएको किराँती निकट नेताहरूको भनाइ छ। किराँती निकट एक नेताका अनुसार चार महिनाअघि भएको पार्टी एकता यसअघि नै औपचारिक रूपमा अनुमोदन हुनुपर्ने उनीहरूको धारणा थियो। अध्यक्ष साम्पाङले पार्टीलाई विधि र संस्थागत प्रक्रियाभन्दा सामाजिक सञ्जालमार्फत हुने घोषणा तथा निर्णयका आधारमा सञ्चालन गर्न खोजेको भन्दै सुरुदेखि नै असन्तुष्टि रहेको उनको भनाइ छ। तर दुवै पक्षबीचको दूरी बढ्न नदिन आफूहरू संयमित रहेको ती नेताले बताए। “हर्क र सुदन मिलेर जानुपर्छ भन्ने एउटा ठूलो जमात छ। त्यसैले अहिले सानातिना अपमान सहेर भए पनि एकता जोगाउन हामी लागिरहने कुरा भएको छ।”
किराँती पक्षका नेताहरूले अध्यक्ष साम्पाङको कार्यशैलीप्रति असन्तुष्टि रहेको बताउँदै आएका छन्। उनीहरूका अनुसार पार्टी सञ्चालनमा विधि, पद्धति र सामूहिक निर्णयभन्दा सामाजिक सञ्जालका घोषणा तथा एकतर्फी निर्णय हाबी हुँदै आएका छन्। बुधबार सुरु भएको संयुक्त बैठकमा यिनै विषयमा छलफल हुने तयारी छ। किराँती पक्षले पार्टीलाई संस्थागत प्रक्रियाअनुसार अघि बढाउनुपर्ने, निर्णयमा सामूहिकता कायम गर्नुपर्ने र संगठन सञ्चालनमा स्पष्ट विधि बनाउनुपर्ने विषय केन्द्रीय समिति बैठकमै उठाउने जनाएको छ। यससँगै मंगलबार अलग देखिएको दुई पक्ष बुधबार एउटै बैठकमा बसेपछि श्रम संस्कृति पार्टीभित्रको एकता र नेतृत्वबीचको सम्बन्ध कसरी अघि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar