|  

भोटेकोशी बाढीपीडितलाई बीमा कम्पनीले अग्रिम भुक्तानी दिने

१७ भदाै, काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूले प्रभावित बीमितलाई अग्रिम भुक्तानी दिने भएका छन्।

जलविद्युत् आयोजना र ठूला पूर्वाधारको क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले पुनर्निर्माणका लागि तत्काल नगद प्रवाह सहज बनाउन अग्रिम भुक्तानीको व्यवस्था गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी र सर्भेयरबीच भएको छलफलपछि यस्तो निर्णय गरिएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रभावितको बीमा दाबी सरल, पारदर्शी र छिटो ढंगले फर्स्योट गर्न निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म बाढीसम्बन्धी ५८३ वटा बीमा दाबी परेका छन्। ती दाबीको प्रारम्भिक अनुमानित रकम २५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।

भोटेकोशी बाढीबाट करिब ९०० मेगावाट क्षमताका विभिन्न जलविद्युत् आयोजनासहित भौतिक पूर्वाधार, सवारीसाधन, कृषि र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। जलविद्युत् आयोजनामा मात्रै करिब १ खर्ब ८० अर्ब रुपैयाँ लगानी प्रभावित भएको प्रारम्भिक अनुमान छ। ठूला आयोजनाको क्षति मूल्याङ्कन पूरा हुन समय लाग्ने भएकाले यकिन भएको क्षतिको आधारमा पेश्की रकम उपलब्ध गराइनेछ। साना दाबीलाई भने कागजी प्रक्रियामा नअल्झाई छिटो भुक्तानी गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ। क्षति मूल्याङ्कनका लागि आवश्यक परे विदेशी विज्ञ सर्भेयरसमेत परिचालन गरिनेछ। सर्भेयर छनोट र परिचालनलाई पारदर्शी बनाउन बीमा प्राधिकरणले समन्वय गर्ने तथा स्वचालित प्रणालीबाट सर्भेयर खटाउने तयारी गरेको छ।

त्यस्तै, बीमा दाबी र भुक्तानीको दैनिक अनुगमन, बीमा कम्पनीको तरलता व्यवस्थापन तथा पुनर्बीमा शोधभर्नालाई तीव्र बनाउन प्राधिकरणमा विशेष कार्यदल गठन गरिने भएको छ।