|  

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री बालेनलाई कुलमान घिसिङको सुझाव

१८ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी बाढी तथा विपद्बाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी गराउँदै उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले चाल्नुपर्ने कदमबारे सुझाव दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार भएको भेटमा घिसिङले आफू नेतृत्वको टोलीले प्रभावित क्षेत्रमा गरेको स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या र तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्रीलाई अवगत गराएका हुन्। प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा घिसिङले विपद्को अवस्थालाई नजिकबाट बुझेर सरकारलाई आवश्यक सुझाव दिन भेटवार्ता गरिएको बताए। उनका अनुसार टोलीले सरकारलाई उद्धार, राहत र पुनर्स्थापना सम्बन्धमा लिखित तथा मौखिक दुवै सुझाव दिएको छ। ‘विपद्को अवस्थामा फिल्डमा पुगेर धेरै कुरा देखेका र बुझेका छौं। त्यहाँ गर्नुपर्ने कामबारे सरकारलाई सुझाव दिन भेटघाट गरेका हौं,’ घिसिङले भने।

भेटका क्रममा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारको विषय पनि प्रमुख रूपमा उठेको थियो। प्रधानमन्त्री शाहले सुरुङमा फसेकाहरूलाई कसरी सुरक्षित रूपमा बाहिर निकाल्न सकिन्छ भन्नेबारे घिसिङको टोलीसँग जानकारी लिएका थिए। घिसिङले सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आफूहरूले बुझेका प्राविधिक तथा व्यावहारिक पक्ष प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको बताए। उनका अनुसार टोलीबाट उद्धारका सम्भावित उपायबारे जानकारी पाएपछि प्रधानमन्त्री शाहले आवश्यक सबै स्रोतसाधन परिचालन गरेर भए पनि उद्धार कार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्। ‘जुनसुकै काम गर्नुपरे पनि गर्ने र आवश्यक परे जुनसुकै अवस्थामा पनि स्रोतसाधन परिचालन गरेर उद्धार अघि बढाउने प्रधानमन्त्रीको भनाइ थियो,’ घिसिङले बताए।

घिसिङ नेतृत्वको टोलीले विपद्पछिको तत्कालीन उद्धारदेखि राहत तथा दीर्घकालीन पुनर्स्थापनासम्म सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको छ।