|  

प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत अनुगमन

१८ भदौ, काठमाडौं ।  विपद् प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत नेपाली सेनाले बिहीबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत ६ जनाको सकुशल उद्धार गरेको छ ।

सेनाका अनुसार विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजीलाई तीव्रता दिइएको छ । लाङटाङ हाइड्रोमा विदेशीसमेत २५ जनाको टोली सुरुङभित्र करिब १५० मिटर प्रवेश गरी खोजी गरिरहेको छ भने चिलिमे हाइड्रोमा पनि संयुक्त टोलीले उद्धार जारी राखेको छ ।

त्रिशूली–३ ‘ए’ आयोजनामा ९३ जनाको टोलीले पाँचवटा एक्स्काभेटर प्रयोग गरी सुरुङको आउटलेटमा जमेको लेदो र माटो हटाइरहेको छ । यस्तै, त्रिशूली–३ ‘बी’ क्षेत्रमा पनि नेपाली सेना, गैरसैनिक र आयोजनाको टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ ।

यसैबिच प्रधान सेनापति अशोकराज सिग्देलले सेनालगायत सम्बद्ध निकायहरूद्वारा संयुक्त रूपमा सञ्चालित खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन् । त्रिशूली र सुरुङ लगायतका उद्धार क्षेत्रको निरीक्षण गर्दै उनले सबै सरोकारवाला निकायबिच प्रभावकारी समन्वय र सहकार्य गरी उच्च मनोबलका साथ कामलाई निरन्तरता दिन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्।

सेनाका ९ हजार ३ सयभन्दा बढी फौज रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा खटिएका छन् । टोलीले खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन स्वास्थ्य उपचारलगायतका काम गरिरहेको छ।