|  

नागरिक लगानी कोषको अधिकृत पूँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

१८ भदौ, काठमाडौं । सरकारले नागरिक लगानी कोषको अधिकृत पूँजी बढाएर १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गराएका हुन्। प्रस्तावित विधेयकअनुसार कोषको अधिकृत पूँजी ८ अर्बबाट बढाएर १० अर्ब रुपैयाँ र सेयर संख्या ८ करोडबाट बढाएर १० करोड कित्ता पुर्‍याइनेछ। त्यस्तै, चुक्ता पूँजी ३ अर्बबाट बढाएर ६ अर्ब ८० करोड रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ। विधेयकमा कोषको सेयर संरचनासँग सम्बन्धित व्यवस्थामा समेत परिवर्तन प्रस्ताव गरिएको छ। राष्ट्रिय बीमा संस्थानको नामलाई ‘राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड’ ले प्रतिस्थापन गर्ने व्यवस्था पनि समेटिएको छ।

त्यस्तै, कोषको सेयर पूँजी र बाँडफाँटमा आवश्यकताअनुसार परिवर्तन गर्न सकिने व्यवस्था थप स्पष्ट पार्न खोजिएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयको पूर्वस्वीकृतिमा जारी पूँजीको सीमाभित्र रही चुक्ता पूँजी बढाउन सक्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव छ। अर्थ मन्त्रालयका अनुसार पूँजी वृद्धि, लगानी क्षमता विस्तार र बढ्दो कारोबारअनुसार कोषको पूँजी संरचनालाई समयसापेक्ष बनाउन विधेयक ल्याइएको हो। यसबाट कोषको लगानीका अवसर विस्तार हुनुका साथै पूँजी बजारमा थप गतिशीलता आउने सरकारको अपेक्षा छ। विधेयकलाई संसद्मा पेस गर्न मन्त्रिपरिषद्ले भदौ ३ गते स्वीकृति दिएको थियो। बिहीबार प्रतिनिधिसभामा विधेयक दर्ता गरिएको हो।