|  

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

१८ भदाै, काठमाडाैं । प्रतिनिधि सभाका सांसदहरूले १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा  परी बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

सभाको बिहीवारको बैठकको आकस्मिक समय लिएर बोल्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्  । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले बाढीमा पनि आफ्ना आफन्तसमेत बेपत्ता भएको बताउँदै खोजी कार्यलाई तिब्र बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले सडक दुर्घटना न्युनिकरण र छाडा पशुचौपायाको व्यवस्थापनमा समेत सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले भने,‘मेरो आफन्त समेत रसुवाबाढीमा परि धेरै जना हराउनुभएको छ । उहाँहरुको खोजि कार्य जारी गरियोस् ।’

रास्वपाकी सांसद ओजश्वी शेरचनले विपद्पछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित भएकाले महामारी फैलिनुअघि नै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरे । उनले रसुवाको स्याफ्रुबेँसी, टिमुरे हेल्थ पोस्ट, टिमुरे हेल्थ डेस्क र मैलुङ स्वास्थ्य इकाई पूर्ण रूपमा ध्वस्त भएको उल्लेख गरे । उनले बाढीले धादिङ र त्रिशूली अस्पतालसमेत प्रभावित भएको उल्लेख गर्दै महामारी फैलिनु अघि नै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षण र स्क्रिनिङको व्यवस्था गर्न माग गरेका छन् । उनले भने,  ‘विपद्पछि प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीले त्यहाँको जनस्वास्थ्यको अवस्था कस्तो गम्भीर छ भनेर प्रष्ट पारेका छन् । सर्वप्रथम त रसुवाको स्याप्र्रmुबेँसी, टिमुरे हेल्थ पोस्ट र टिमुरे हेल्थ डेस्क र मैलुङ स्वास्थ्य इकाई पूर्ण रुपमा ध्वस्त छ । धादिङ र त्रिसूली अस्पताल समेत प्रभावित छन् । स्वास्थ्य चौकी नै नरहेको अवस्थामा महामारी फैलिनू अघि नै त्यहाँ अस्थानीय स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य परिक्षण र स्क्रिनिङ गरियोस् ।’

रास्वपाका सांसद बुद्धिप्रसाद पन्तले आफ्नो निर्वाचन क्षेत्र र पर्साबाट समेत सयौँ नागरिक बेपत्ता भएको बताउँदै उद्धार कार्यमा स्रोतसाधन र जनशक्तिको अभाव देखिएको बताए । उनले सम्पर्कविहीन नागरिकका परिवारजन सास वा लाशको आशामा आफन्तको प्रतीक्षा गरिरहेको बताउँदै उद्धार कार्यमा थप तदारुकता देखाउन सरकारसँग आग्रह गरे । उनले भने,‘यस महाविपत्तीमा परी मेरो निर्वाचन क्षेत्र र पर्साका समेत सयौँ बेपत्ता हुनुभएको छ । उहाँहरुको परिवारजन आज पनि सास वा लाशको आशमा आफन्तको बाटो पर्खिरहेका छन् । उहाँहरुलाई यो सरकारप्रति आशा पनि छ । उहाँहरुले यो महाविपत्तीमा सरकारले देखाएको तदारकता, काम र प्रयासहरुलाई नजिकबाट नियालीरहनुभएको छ । स्रोतसाधन र जनशक्ति अभावमा उद्धार कार्यमा सोचेजस्तो प्रगति देखिएको छैन ।’

रास्वपाका सांसद बुद्धरत्न महर्जनले गोसाइँकुण्ड तीर्थयात्रामा गएका ललितपुरका नागरिक तथा देशभरका तीर्थयात्रीको यथाशिघ्र खोजी सरकारको ध्यानाकर्षण गराए । उनले चाडपर्व नजिकिँदै गर्र्दा आपूर्ति व्यवस्थापनमा समेत सरकार गम्भीर हुनुपर्ने बताए । कुनै नाका बन्द भए वा चाप बढे बजारमा दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्यवृद्धि हुनसक्ने तर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ छ । उनले भने,‘गोसाइँकुण्ड तीर्थयात्रामा गएका ललितपुरका नागरिक र देशभरका तीर्थयात्रीको यथाशिघ्र खोजि गरी पत्ता लगाउन म हार्दिक अनुरोध गर्दछु । यस्तो विपद्को अवस्था र महान चाड नजिकिँदै गर्दा सरकार आपूर्ति व्यवस्थापनमा समेत गम्भीर हुनुपर्छ । कुनै नाका बन्द भए वा चाप बढे बजारमा दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्यवृद्धि हुनसक्छ ।’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलवती शर्माले बाढीले नागरिक र भौतिक संरचनासँगै हजारौँ सपना बगाएको उल्लेख गर्दै राहत वितरण र उद्धार कार्यमा सरकार गम्भीर हुनुपर्ने बताए ।उनले बाढीमा परि बाग्लुङबाट समेत १६ जना सम्पर्कविहीन भएको जानकारी दिँदै रसुवा, नुवाकोट र धादिङको पीडा समग्र नेपाल र नेपालीको पीडा भएको बताए । सांसद शर्माले सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक मेसिन संसारभर नरहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ति समेत जनाए । उनले भने,‘यो केवल रसुवा, नुवाकोट र धादिङको मात्र पीडा नभएर समग्र नेपाल र नेपालीको पीडा हो । सभामुख महोदय बाढीले हाम्रा नागरिक र भौतिक संरचना मात्र नभई हजारौँ सपना समेत सँगै बढाएको छ । पर्यटक र रोजगारको लागि धेरै जिल्लाबाट त्यस क्षेत्रमन नागरिकहरु आज हराइरहेका छन् । हाम्रो बाग्लुङबाट पनि १६ जना सम्पर्कविहीन भएका छन् । सरकारलाई हाम्रो साथ पनि छ प्रश्न पनि छ । अन्तरिक्षसम्म गएर आधुनिक विज्ञानको खोजि गर्ने आजको युगमा एउटा मामुली सुरुङभित्र फसेका नागरिकको उद्धार गर्ने मेसिन संसारभर छैन भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको भनाइ सरासर झुट र लज्जाजनक भएन र ?’

अधिकांश सांसदहरुले बाढीपछिको विपद् प्रतिकार्यमा सरकारले गति बढाउनुपर्ने बताए । बाढीबाट सम्पर्कविच्छेद भएका राजमार्गको पुनर्निर्माण तथा वैकल्पिक मार्गको व्यवस्था तत्काल गर्न समेत सरकारको ध्यानाकर्षण गराए । – न्युज एजेन्सी नेपाल ।