|  

बाढीपीडितका लागि भारतको निरन्तर सहायता: छैटौँ र सातौँ खेप राहत सामग्री हस्तान्तरण

१९ भदौ, काठमाडौं । बाढी प्रभावित नेपालका लागि भारतले मानवीय सहायता निरन्तरता दिँदै थप २१.५ टन राहत सामग्री पठाएको छ ।

छैटौँ र सातौँ राहत उडानमार्फत बिहीबार राति दुईवटा सी-१३०जे विमानबाट राहत सामग्री काठमाडौँ ल्याइएको हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार राहत सामग्रीमा उद्धार तथा राहत कार्यका लागि आवश्यक फोरेन्सिक किट र स्वास्थ्य उपकरण छन् । सामग्री नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि पछिल्लो सहायता रसुवाको पहिरो तथा बाढीपछि भारतले दिएको निरन्तर सहयोगकै निरन्तरता भएको बताएका छन्।

‘रसुवाको बाढीपछि नेपालको राहत प्रयासमा भारतको सहयोग जारी छ,’ श्रीवास्तवले एक्समा लेखेका छन्, ‘छैटौँ र सातौँ उडानबाट फोरेन्सिक किट र मेडिकल सामग्रीसहित २१.५ टन राहत सामग्री काठमाडौँ आइपुगेको छ।’