|  

नेपाली सेना राजनीतिक विवादबाट मुक्त रहनुपर्छः अध्यक्ष ओली

१९ भदाै, काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दुःखद् भएको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाका रूपमा रहेको नेपाली सेना सधैँ निष्कलंकित र निर्विवाद रहनुपर्नेमा जोड दिए । विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै अध्यक्ष ओलीले सेनाको पछिल्लो सक्रियता र समयसन्दर्भमाथि समेत प्रश्न उठाए । राहत र उद्धारको नाममा सेनाको उपस्थितिको प्रभावकारिता स्पष्ट नभएको टिप्पणी गर्दै उहाँले अहिलेको मुख्य प्राथमिकता राहत र पुनःस्थापना नै हुनुपर्ने बताए । अध्यक्ष ओलीले भने,‘नेपाली सेना राजनीतिक विवादमा मुसिनै नहुने संस्था हो, तर गत वर्षदेखि यसलाई विवादमा तान्ने काम भइरहेको छ । सेना नेपाली जनताको आशा र भरोसाको केन्द्र भएकाले यो संस्था सधैँ स्वच्छ र आफ्नो सीमाभित्र रहनु उचित हुन्छ । अहिलेको समय राहत र उद्धारमा केन्द्रित हुने बेला हो । यससँगै भत्किएका संरचनाको पुनर्निर्माण पनि आवश्यक छ । प्रदेश सरकारमार्फत विभिन्न स्थानमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने तथा अवरुद्ध सडक सञ्चालन गर्ने कार्य भइरहेको छ ।’

अध्यक्ष ओलीले राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि समान्तर रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरे । रसुवाका बाढी र पहिरो प्रभावितका लागि सहयोग पु¥याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा अध्यक्ष ओलीले प्राप्त राहत सामग्री हस्तान्तरण गरेका थिए । –न्युज एजेन्सी नेपाल