|  

नेपाललाई चीनको निरन्तर जलविज्ञान निगरानी सहयोग

१९ भदाै, काठमाडौं । चीनले नेपालमा उद्धार तथा विपद् राहत कार्यलाई थप प्रभावकारी बनाउन आपत्कालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर उपलब्ध गराउने भएको छ।

चिनियाँ दूतावासका अनुसार उक्त सूचनामा नदीमा बन्न सक्ने अवरोध (ब्यारियर), हिमताल विस्फोट वा त्यसबाट उत्पन्न हुन सक्ने जोखिमलगायतका विषय समेटिनेछन्। यसले सम्भावित विपद्को जोखिम पहिचान, पूर्वतयारी तथा उद्धार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। चीन-नेपाल केरुङ-रसुवा सीमा क्षेत्रमा गएको भीषण पहिरोपछि चीनका मौसमसम्बन्धी निकायले नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा मौसमजन्य प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन्।

विपद् घटेलगत्तै चीनको मौसम प्रशासनले नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत परामर्शसमेत गरेको थियो। उक्त छलफलमा तत्कालीन मौसम अवस्था, सम्भावित जोखिम र आवश्यक पूर्वसूचनाका विषयमा जानकारी आदानप्रदान गरिएको थियो। अब जलविज्ञानसँग सम्बन्धित निगरानी सूचनाको निरन्तर आदानप्रदानले नेपालमा नदी तथा हिमतालजन्य विपद्को जोखिमबारे समयमै जानकारी प्राप्त गर्न र त्यसअनुसार उद्धार तथा राहतका योजना बनाउन थप सहज हुने विश्वास गरिएको छ।