|  

गृहमन्त्री गुरुङको प्रतिवाद : ‘कुर्सी होइन, परिणाम हेर्नुस्’

१९ भदाै, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा सरकारको कार्यशैलीबारे भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाउँदै आफ्नो नेतृत्वको मूल्याङ्कन कामको परिणामबाट गर्न आग्रह गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले लामो समयदेखि वास्तविक अवस्था नबुझी मन्त्रालयको कुर्सीबाट मात्र नेतृत्व गर्ने प्रवृत्तिको परिणाम भोग्दै आएको बताएका छन्। अहिले प्रविधिको प्रयोग गर्दै फरक शैलीमा काम भइरहेको उनको दाबी छ। गुरुङका अनुसार विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ। विषयगत मन्त्रालयका उच्च अधिकारीहरूको सहभागितामा प्रत्येक चार घण्टामा अनलाइनमार्फत कमान्ड सञ्चालन तथा रणनीतिक बैठक भइरहेको उनले जानकारी दिएका छन्। डिजिटल माध्यमको प्रयोगबाट प्रशासनिक तथा उद्धारका काम परम्परागत शैलीको तुलनामा छिटो र प्रभावकारी भइरहेको उनले दाबी गरेका छन्।

पुरानै प्रणालीबाट फरक परिणाम खोज्दै आफूहरूलाई फेरि पुरानै शैलीमा काम गर्न दबाब दिइएको भन्दै गुरुङले प्रश्न गरेका छन्। मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्नुलाई मात्र नेतृत्व ठान्ने सोच अहिलेको युगसँग मेल नखाने उनको टिप्पणी छ। ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुहोस्,’ गुरुङले आलोचकहरूलाई आग्रह गरेका छन्।