|  

रसुवा-भोटेकोशीका बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न जग्गा खोजिँदै

१९ भदाै, काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा बाढीका कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारले जग्गा पहिचान प्रक्रिया अघि बढाएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गर्दै पुनःस्थापनाका लागि उपयुक्त स्थान खोज्ने जिम्मेवारी दिएको हो। समितिले बाढीबाट घरजग्गा क्षति भएका, हालको बासस्थान जोखिमपूर्ण भएका तथा जोखिमकै बीच प्रभावित क्षेत्रमा बसिरहेका परिवारको विवरण संकलन गर्नेछ। स्थानीय तहको समन्वयमा पीडित परिवारको वास्तविक संख्या र अवस्था पहिचान गरिने मन्त्रालयले जनाएको छ। त्यसपछि सम्भावित जग्गाको स्थलगत निरीक्षण गरी बाढी तथा पहिरोको जोखिम, भौगोलिक अवस्था, बसोबासको उपयुक्तता र आवश्यक पूर्वाधारबारे अध्ययन गरिनेछ।

समितिले जोखिम मूल्याङ्कनसहित अस्थायी बसोबास तथा दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक कानुनी प्रक्रियाबारे सुझाव दिनेछ। अध्ययनपछि उपयुक्त जग्गा छनोट र पुनःस्थापनासम्बन्धी सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा बुझाइनेछ।