|  

बाढीपछि चीनमा अलपत्र नेपाली फर्किने क्रम जारी, थप १५५ जना स्वदेश आए

१९ भदाै, काठमाडौं । रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका थप १५५ नेपाली शुक्रबार तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्।

चिनियाँ अधिकारीहरूले उनीहरूलाई सुरक्षित रूपमा लिपिङ क्षेत्रमा ल्याएर नेपाली प्रशासनको जिम्मा लगाएका हुन्। यससँगै दुई दिनमा चीनबाट २६९ नेपाली स्वदेश फर्किएका छन्। बिहीबार मात्रै ११४ जना नेपाल आएका थिए। शुक्रबार फर्किएका १५५ जनामध्ये १४५ जना रसुवाका, ९ जना काठमाडौंका र एक जना धादिङका रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए। चिनियाँ पक्षले उनीहरूको राहदानी नम्बरलगायत विवरणसमेत नेपाली अधिकारीलाई बुझाएको छ।

आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई काठमाडौं पठाइनेछ। बाढीपछि चीनतर्फ करिब ८ सय नेपाली अलपत्र परेको बताइएको छ। उनीहरूलाई चरणबद्ध रूपमा तातोपानी नाका हुँदै स्वदेश फर्काउने प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ।