|  

त्रिशूली-३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर

 

१९ भदाै, काठमाडाैं । १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट शुक्रवार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको अवस्था सामान्य रहेको छ ।

उद्धारलगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा चिकित्सकको निगरानीमा रहनुभएका शाहको स्वास्थ्य अवस्था सामान्य र स्थिर छ । साहको उद्धार भएपछि परिवारजन सरप्राइज भएको उहाँका आफन्त देवकुमार साहले बताउनु भयो । उहाँकाअनुसार अहिले सञ्जयको परिवारका सदस्यहरु उहाँलाई भेट्न काठमाडौं आइरहनुभएको छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञहरूको संयुक्त टोलीले शुक्रवार बिहान मात्र उहाँको उद्धार गरेको थियो । उहाँले भन्नुभयो, ‘सञ्जय साह मेरो बहिनी ज्वाइँ हुनुहुन्छ, हामी सरप्राइज नै भयौँ । यतिधेरै दिन भइसकेको थियो विस्तारै उहाँ फर्किने आशा मर्दै गएको थियो । अहिले चमत्कारजस्तै भयो । उहाँको परिवारमा पनि खुसिको सीमा छैन । अहिले उहाँको परिवार आइरहनुभएको छ, कति बेला पुग्नुहुन्छ ? सायद २, ३ बजे पुग्नुहुन्छ कि ।’
सुरुङभित्र अन्य व्यक्तिहरू पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली सेनासहितको प्राविधिक टोलीले उद्धार जारी राखेको छ । –न्युज एजेन्सी नेपाल