|  

लाङटाङमा बनेको तालबाट तत्काल जोखिम नरहेको चिनियाँ टोलीको निष्कर्ष

१९ भदाै,काठमाडौं । लाङटाङको उत्तरी क्षेत्रमा हिमचट्टान खसेर बनेको तालबाट तत्काल जोखिम नरहेको चिनियाँ टोलीले नेपाली पक्षलाई जानकारी गराएको छ।

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार माथिल्लो तालमा पानीको सतह केही बढे पनि अहिलेसम्म खतराको तहमा पुगेको छैन। तल्लो भागमा बनेको तालको भने अधिकांश पानी बाहिरिइसकेको छ। नेपाल-चीन सीमाक्षेत्रमा बनेका दुईमध्ये माथिल्लो ताललाई ‘ब्यारियर लेक-टु’ र तल्लोलाई ‘ब्यारियर लेक-वान’ नाम दिइएको छ। माथिल्लो ताल करिब ०.१९ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको र पानीको सतह करिब दुई मिटर बढेर झन्डै ६ लाख घनमिटर पानी जम्मा भएको अनुमान छ।

चिनियाँ टोलीले आफ्नो भूभागबाट तालको निरन्तर निगरानी गरी नेपाली पक्षलाई सूचना दिइरहेको छ। गत १० भदौमा बनेका दुई तालमध्ये तल्लो ताल फुट्दा भोटेकोशीमा बाढी आएको थियो। त्यसपछि तल्लो तालको पानी पनि बाहिरिएर अहिले जोखिम न्यून रहेको महाशाखाले जनाएको छ।