|  

एसिया–प्यासिफिक सम्मेलनमा तोसिमाः ‘नेपाल सहानुभूति होइन, जलवायु न्याय माग्न आएको हो’  

२० भदौ, काठमाडौं । दक्षिण–पूर्व एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सांसद तथा विशिष्ट प्रतिनिधि सहभागी सम्मेलनमा प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको क्षति र जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाएकी छन् ।

कार्कीले हालै नेपालमा आएको भोटेकोशीको विनाशकारी बाढीको भिडियो विभिन्न देशका सांसद तथा मन्त्रीलाई देखाउँदै नेपालको वास्तविक अवस्था प्रस्तुत गरिन् । उनले जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि बाढी, पहिरो लगायतका विपद्बाट नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको बताइन् ।

विश्वको वातावरणीय सन्तुलनका लागि नेपालले हिमालय, हिमनदी, वनजंगल तथा नदी प्रणाली संरक्षणमा महत्वपूर्ण योगदान दिँदै आएको उनको भनाइ थियो ।

नेपालले पटक–पटक ऋण लिएर ध्वस्त भएका सडक, पुल, घर तथा अन्य पूर्वाधार पुनर्निर्माण गर्न नसक्ने भन्दै उनले ‘नेपाल सहानुभूति माग्न आएको होइन, जलवायु न्याय माग्न आएको हो’ भनेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइन्।